स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनञ्जय रेग्मी विजयी भएका छन्। भर्खरै सम्पन्न मतगणनाअनुसार उनले २९ हजार ७१ मत प्राप्त गर्दै जित हात पारेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा (एमाले)का मीनबहादुर गुरुङले १६ हजार ८०४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत प्राप्त गरेका छन्।
रेग्मीले गत साउन १ गते मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए। त्यसअघि आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको उनको दाबी छ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–५ पौवैगौंडेमा जन्मिएका ५० वर्षीय रेग्मी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। उनले जापानको होक्काइदो विश्वविद्यालयबाट पर्यावरण पृथ्वी विज्ञानमा विद्यावारिधी (पीएचडी) गरेका छन्।
रेग्मीले अमेरिका र जापानमा पोस्ट–डाक्टोरल अनुसन्धान तथा व्यावसायिक प्रशिक्षण पनि लिएका छन्। हिमताल, ग्लेसियर, जलवायु परिवर्तन र वातावरणीय जोखिम उनका अध्ययनका प्रमुख विषय रहेका छन्। उनी पर्यावरणीय अध्ययन संस्था ‘हिमालयन रिसर्च सेन्टर’का संस्थापक अध्यक्षसमेत हुन्।
यद्यपि, पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत रहँदा उनी विवादमा पनि तानिएका थिए। २०७४ साल पुस ७ गते कतार एयरलाइन्समार्फत नेपाल आउँदा सुन ल्याएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए। बिस्कुट आकारका तीन थान सुनमध्ये ३० ग्राम अवैध रहेको खुलेको थियो।
उक्त प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले मुद्दा दर्ता गरेको थियो। अदालतले २०७७ भदौ २१ गते फैसला गर्दै सुन जफतसहित १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो। सोही कारण तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले उनलाई सीईओ पदबाट हटाएका थिए। तर पछि सर्वोच्च अदालतले उनलाई पुनः थमौती दिएको थियो।
यस निर्वाचन क्षेत्रमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापाले विजय हासिल गरेका थिए भने २०७४ सालको निर्वाचनमा नेकपा (एमाले)का नारायणप्रसाद मरासिनी विजयी भएका थिए।
यसपटक भने रेग्मी, ढकाल, गुरुङ र घिमिरेसहित सबै प्रमुख उम्मेदवार नयाँ अनुहारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए। अन्य उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमबहादुर राना, उज्यालो नेपाल पार्टीका रवीन्द्र मल्ल, नेकपा (माओवादी)का सोमबहादुर परियार, मंगोल नेसनल अर्गनाइजेसनका यामबहादुर गुरुङ, नेसनल रिपब्लिक पार्टीका अर्जुनकुमार गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विश्वकर्मा तथा श्रम संस्कृति पार्टीका पिरन गुरुङ रहेका थिए।
त्यस्तै, मनोज नेपाली र अशोक विष्टले स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए।
स्याङ्जाका ११ स्थानीय तह मध्ये ६ वटा क्षेत्र नम्बर १ मा पर्छन्। तीमध्ये पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको थियो भने फेदीखोला, आँधीखोला, हरिनास र बिरुवा गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका थिए।
भिरकोट नगरपालिकाका वडा नम्बर १, २, ३, ४ तथा वालिङ नगरपालिकाका वडा नम्बर ३ र ४ पनि यही निर्वाचन क्षेत्रमा समावेश छन्।







प्रतिक्रिया