उद्योग खोल्न नेतालाई ढोग्ने र चन्दा दिने अवस्था अन्त्य गर्छौँ : बालेन्द्र साह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्नुभएको छ।

मंगलबार इटहरीमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उहाँले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताउनुभयो। पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको क्षेत्र भए पनि पछिल्लो समय नयाँ उद्योग खुल्न नसकेको उहाँको भनाइ थियो।

नयाँ उद्योग खोल्न राजनीतिक र प्रशासनिक झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले “फ्याक्ट्री खोल्न १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ, अनि बल्ल–बल्ल खुल्छ। चलाउन थालेपछि चन्दा आतंक सुरु हुन्छ,” भन्दै अब यस्तो अवस्था अन्त्य गरिने बताउनुभयो।

साहले पूर्वी क्षेत्रलाई उत्पादनमुखी बनाउने योजनासमेत प्रस्तुत गर्नुभयो। पूर्वी तराईका चार जिल्लामा पूर्ण रूपमा धान उत्पादन गर्न सके देशभरका नागरिकलाई खाद्यान्न पुग्ने दाबी गर्दै उहाँले पूर्वी पहाडमा उत्पादन भएको कृषि उपज तराईसम्म सहज रूपमा पुर्‍याउने व्यवस्था मिलाइने बताउनुभयो।

उहाँले किराँत समुदायका आस्थाका केन्द्र मुकुलुङ र खुवालुङलाई राष्ट्रिय आस्थाका केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो।

पूर्वी क्षेत्रमा सिँचाइ, खानेपानीलगायत पूर्वाधार विकासमा जोड दिँदै उहाँले उदयपुरलाई इन्डोनेसिया वा माल्दिभ्सजस्तै विकास गर्न सकिने सम्भावना रहेको दाबी गर्नुभयो।