३४०६ उम्मेदवारमध्ये ६६७ जनाले मात्रै खोले निर्वाचन खर्चका लागि बैंक खाता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ कुल ३ हजार ४०६ जना उम्मेदवार रहे पनि निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या जम्मा ६६७ पुगेको छ। अझै २ हजार ५३९ जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेर त्यसको जानकारी आयोगलाई गराएका छन्।

निर्वाचनमा हुने आर्थिक सहायताको पारदर्शिता, कानुनले तोकेको खर्च सीमा पालना र प्रभावकारी निगरानीका लागि उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न अनिवार्य गरिएको हो। निर्वाचन आयोग ऐन २०७३को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च छुट्टै खातामार्फत गर्नुपर्ने व्यवस्था छ।

सोहीअनुसार ‘निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८२’ स्वीकृत भई कार्यान्वयनमा आएपछि दल तथा उम्मेदवारहरूले खाता खोल्न थालेका हुन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार केही उम्मेदवारले राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र नेपाल बैंकमा खाता खोलेका छन्।

खर्च सीमा कति?

निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमा जिल्लाको सुगमता–दुर्गमता, मतदाता संख्या, मतदान केन्द्र संख्या र निर्वाचन क्षेत्रको क्षेत्रफलका आधारमा तोकिएको छ।

  • काठमाडौँका ५ वटा निर्वाचन क्षेत्र (१, ३, ६, ७ र ८) का उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन्।
  • देशभरका १७ निर्वाचन क्षेत्रमा अधिकतम २७ लाख खर्च सीमा तोकिएको छ।
  • ६५ निर्वाचन क्षेत्रमा अधिकतम २९ लाख,
  • ५२ निर्वाचन क्षेत्रमा अधिकतम ३१ लाख,
  • २६ निर्वाचन क्षेत्रमा अधिकतम ३३ लाख खर्च गर्न पाइनेछ।

उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आफ्नो खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने प्रावधान छ।

समानुपातिकतर्फको व्यवस्था

समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले बन्दसूचीमा राखेका उम्मेदवार संख्याअनुसार खर्च सीमा निर्धारण गरिएको छ। प्रत्येक उम्मेदवार बराबर अधिकतम दुई लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ।