आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार मतपत्रहरू सम्बन्धित जिल्ला–जिल्लामा ढुवानी गरिँदै छन्। आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार प्रत्यक्षतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख तेइस हजार मतपत्र छापिएको छ।
छापिएका मतपत्र गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट ढुवानी सुरु गरिएको थियो। हालसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको छ भने अन्य प्रदेशमा कार्य जारी रहेको आयोगले जनाएको छ।
मतपत्र बाहेकका अन्य निर्वाचन सामग्रीको ढुवानी भने पूरा भइसकेको छ।
मतपत्र छपाइ आयोगले तय गरेको कार्यतालिका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गरिएको हो। गत पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि नमूना मतपत्र छपाइ सुरु गरिएको थियो, जसअनुसार १० लाख ९८ हजार २०० नमूना मतपत्र छापिएको थियो।
पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको आयोगले जनाएको छ।







प्रतिक्रिया