७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएकी छन्।
उनले जहानियाँ राणा शासनको अन्त्य गर्दै जनअधिकार, स्वतन्त्रता, सुशासन र समतामूलक विकाससहितको प्रजातन्त्र स्थापना गर्न विभिन्न कालखण्डका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति सम्मान व्यक्त गरिन्। वि.सं. २००७ सालको क्रान्ति केवल शासन परिवर्तन नभई नेपाली जनताको आत्मसम्मान र अधिकारको उद्घोष भएको उल्लेख गर्दै फागुन ७ लाई रैतीबाट नागरिकमा रूपान्तरण भएको ऐतिहासिक दिनका रूपमा स्मरण गरिन्।
प्रधानमन्त्री कार्कीले २००७ सालको उपलब्धि २०१७ मा गुम्नु, त्यसपछि २०३६, २०४६, २०६२/६३ र २०८२ सम्म पनि जनतालाई पटक–पटक आन्दोलन गर्नुपर्ने अवस्था आउनुका कारणबारे आत्मसमीक्षा आवश्यक रहेको बताइन्। जेनजी युवाहरू समेत सडकमा उत्रिनु लोकतान्त्रिक अभ्यास कमजोर भएको संकेत भएको उनको भनाइ थियो।
उनले सीमित वर्गको सत्तामा प्रभुत्व, स्रोत–साधनमा एकाधिकार र राज्य संयन्त्रमा प्रभाव कायम रहँदा जनविश्वास कमजोर भएको बताइन्। बजेट वितरण, समानुपातिक प्रणाली, छात्रवृत्ति र रोजगारीमा देखिएका असन्तुलनले असन्तोष बढाएको टिप्पणी गरिन्। भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलनलाई राज्य संरचनाप्रतिको प्रश्नका रूपमा व्याख्या गर्दै भ्रष्टाचार, नातावाद र विभेद अन्त्यका मागलाई सरकारले गम्भीरतापूर्वक लिएको जानकारी दिइन्।
प्रधानमन्त्रीले लोकतन्त्रलाई केवल राजनीतिक प्रणाली नभई जीवनशैलीका रूपमा विकास गर्नुपर्ने धारणा राख्दै रोजगारी, शिक्षा, स्वास्थ्य र महँगीसँग लोकतन्त्रको औचित्य जोडिनुपर्ने बताइन्।
वि.सं. २०१५ साल फागुन ७ गतेदेखि नेपालमा पहिलो प्रजातान्त्रिक निर्वाचन सुरु भएको ऐतिहासिक तथ्य स्मरण गर्दै उनले यस दिनलाई निर्वाचन दिवसका रूपमा पनि महत्वपूर्ण रहेको उल्लेख गरिन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरिन्।
‘लोकतन्त्र प्रक्रिया मात्र होइन, यसले नतिजा दिनुपर्छ,’ उनले भनिन्, ‘विधिको शासन आवश्यक छ, तर प्रक्रियाको नाममा नागरिकलाई दुःख दिनु लोकतन्त्र होइन।’
सम्बोधनको अन्त्यमा उनले लोकतन्त्र, सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, जेनजी युवा तथा आम नागरिकलाई एकजुट हुन आह्वान गरिन् र शहीदहरूप्रति पुनः श्रद्धाञ्जली व्यक्त गरिन्।







प्रतिक्रिया