नेपाल र पोर्चुगलबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बनमा फेब्रुअरी २०, २०२६ मा आयोजना हुने भएको छ।
विदेश सचिव अमृतबहादुर राई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बैठकको सह-अध्यक्षता गर्नेछन्। उनी फेब्रुअरी १७ मा लिस्बनको लागि नेपालबाट प्रस्थान गरिसकेका छन्।
विदेश मन्त्रालयका अनुसार नेपाली प्रतिनिधि मण्डलमा विदेश मन्त्रालयका वरिष्ठ अधिकारी, पोर्चुगलस्थित नेपाली राजदूत, साथै दूतावासका अन्य अधिकारीहरू रहेका छन्।
बैठकका क्रममा दुवै पक्षले नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्था, साझा चासोका विषयमा क्षेत्रीय र बहुपक्षीय फोरममा सहकार्यको समीक्षा गर्नेछन्।
लिस्बनमा रहेकै क्रममा विदेश सचिवले पोर्चुगल विदेश मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्ने, नयाँ उद्घाटन गरिएको नेपाली दूतावासको औपचारिक उद्घाटन गर्ने, र पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। हाल पोर्चुगलमा करिब ४०,००० भन्दा बढी नेपाली नागरिक विभिन्न पेशामा संलग्न रहेका अनुमान छ।
विदेश सचिव फेब्रुअरी २२, २०२६ मा काठमाडौं फर्कनेछन्।
नेपाल र पोर्चुगलबीचको द्विपक्षीय परामर्श संयन्त्र २०१८ मा स्थापना भएको थियो।







प्रतिक्रिया