धादिङबाट कान्तिलोकपथ हुँदै हेटौंडातर्फ जाँदै गरेको एउटा ट्रकबाट ठूलो परिमाणमा अवैध लागुऔषध बरामद गरिएको छ।
ना ३ च ४०५ नम्बरको उक्त ट्रक तरकारीका खाली क्रेट बोकी जाँदै गरेको अवस्थामा आज बिहान करिब ८:४० बजे भट्टेडाँडा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा रोकेको थियो। जाँच बागमती गाउँपालिका–३, छपेली क्षेत्रमा गरिएको हो।
जाँचका क्रममा गाडीभित्र शंकास्पद रूपमा बनाइएको ‘फल्स बटम’ फेला परेको थियो। सोधपुछ गर्दा चालक एक्कासि नजिकैको जंगलतर्फ फरार भएका थिए। त्यसपछि प्रहरीले खोजतलास अभियान सञ्चालन गरी बागमती गाउँपालिका–२ स्थित बगुवा जंगल क्षेत्रबाट करिब १२ किलोमिटर टाढाबाट चालकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा प्रवक्ता गौतम मिश्रका अनुसार पुनः गाडी जाँच गर्दा फल्स बटमभित्र लुकाइछिपाइ राखिएको करिब १५३ केजी (१५ पोका) लागुऔषध बरामद गरिएको छ।
पक्राउ पर्ने व्यक्ति बुटवल उपमहानगरपालिका–७ का स्थायी बासिन्दा तथा हाल हेटौंडा बस्दै आएका २८ वर्षीय नगेन्द्र श्रेष्ठ रहेका छन्।
बरामद गरिएको गाडी र लागुऔषध नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया