राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेथिति अन्त्य गर्ने उद्देश्यसहित आफूहरू राजनीतिमा आएको बताएका छन्।
सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले फागुन २१ गते हुने मतदानअघि जनताले मनबाट निर्णय गर्नुपर्ने बताए। ‘मतपत्रमा छाप लगाउने फागुन २१ मा हो, अहिले मनपत्रमा छाप लगाउने हो,’ उनले भने।
सुदूरपश्चिमका अधिकारलाई मागका रूपमा अल्झाएर राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले ‘बेथिति र बेरोजगारीको सटर एकैपटक बन्द गर्ने’ प्रतिबद्धता व्यक्त गरे।
लामिछानेले पाँच वर्षको स्थायी सरकारको मागसहित रास्वपा जनतामाझ गएको बताए। राजनीतिक दलहरूले चुनावमा गरेका वाचा पूरा नगर्दा जनताले दुःख पाउने अवस्था अन्त्य गर्न आफ्नो पार्टी अघि बढेको उनको भनाइ थियो।
‘बाचा जसले गरेको हो सजाय उसैले पाउने हो, जनताले होइन,’ उनले भने। भारतमा रोजगारीका लागि रहेका सुदूरपश्चिमका नागरिकलाई सम्बोधन गर्दै उनले सकेसम्म मतदानका लागि स्वदेश फर्कन आह्वान गरे। ‘यसपटक जनताले जित्नुपर्छ, सधैं नेतामात्रै जितिरहेका छन्,’ उनले जोड दिए।
देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर आफूहरू अघि बढेको पनि उनले बताए।







प्रतिक्रिया