राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनलाई पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले कांग्रेसमा स्वागत गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै शर्माले रास्वपामा ‘दागैदाग भएकाहरूको बिगबिगी’ बढ्दै गएको र योग्य तथा योगदान दिएका कार्यकर्ताको मूल्यांकन नहुँदा आफू निराश भएको बताइन्।
उनले भनिन्, ‘रास्वपामा दागैदाग भएकाले टिकट पाएपछि मैले गरेको योगदान खेर गएको महसुस भयो। त्यसैले जेन–जीको भावना बोक्ने र सुशासनको काममा जोड दिने पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ।’
उनले नेपाली कांग्रेस ८० वर्षको विरासत बोकेको पार्टी मात्र नभई मधेसको आवाजलाई पहिलो प्राथमिकतामा राख्ने पार्टी भएको उल्लेख गरिन्। वर्तमान सभापति स्वयं मधेस आएर उम्मेदवारी दिएको तथ्यले कांग्रेस मधेसप्रति गम्भीर रहेको देखिने उनको भनाइ छ।
शर्माले विगतका चुनावमा मधेसका जनताले नेताहरूलाई भोट दिए पनि नेताहरूले मधेसलाई पटक–पटक धोका दिएको आरोप लगाइन्। यसपटक भने बदलिएको कांग्रेसलाई साथ दिन मधेशी जनतालाई अपील गरिन्।
मैथिली भाषामा बोल्दै उनले भनिन्,
“सब दाइब मधेसक जनतासब भोट नेतासबके देने है। मगर सब दिनसे नेतासब मधेसक जनताके लुट रहल है। यहाँ सब यी दाइब मधेशमे निक उम्मेदवार छानू, कांग्रेसके उम्मेदवारके पहचानू।”
उनको कांग्रेस प्रवेशसँगै मधेस प्रदेशमा कांग्रेसको संगठन थप सुदृढ हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया