जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीयताको रक्षा गर्ने साहस आफ्नो पार्टीसँग मात्रै रहेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै अध्यक्ष यादवले संघीयताको रक्षा गर्न जसपा नेपाललाई जिताउनुपर्ने बताएका हुन्।
उनले भनेका छन्, ‘मधेश जनविद्रोह केवल आन्दोलन थिएन, त्यो मधेशको आत्मसम्मानको घोषणापत्र थियो। गोली, दमन र षड्यन्त्रकाबीच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि हो।’
अध्यक्ष यादवले शहीदहरूको बलिदानबाट स्थापना भएको संघीयतालाई कमजोर पार्न खोज्ने प्रयासहरू भइरहेको दाबी गरेका छन्। ‘शहीदहरूको बलिदानले बनाएको संघीयताको आधारलाई कमजोर पार्न खोज्नेहरू धेरै छन्, तर त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ,’ उनले उल्लेख गरेका छन्।
निर्णय गर्ने जिम्मा अब जनताकै हातमा रहेको बताउँदै उनले अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि संघर्ष गरेको शक्तिलाई मतदान गर्न आग्रह गरेका छन्। विभाजन र भ्रमभन्दा माथि उठेर आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई समर्थन गर्न उनले आह्वान गरेका छन्।







प्रतिक्रिया