नेपाली कांग्रेस नयाँ रूपमै आएको छ : गगन कुमार थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नयाँ पार्टीमा मत दिन चाहने मतदाताका लागि कांग्रेस नै विकल्प भएको बताएका छन्।

सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा उनले कांग्रेस विरासत बोकेर नयाँ नीति र नेतृत्वसहित अघि बढेको बताए। ‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो,’ उनले भने।

देश युवाको काँधमा रहेको उल्लेख गर्दै उनले धनकौलमा युवाको उल्लेखनीय सहभागिता देखेर खुशी लागेको बताए। जेनजी पुस्ताको सक्रियता सकारात्मक संकेत भएको भन्दै उनले युवाको विचार र क्षमताको कदर गर्नुपर्ने धारणा राखे।

थापाले मधेशको जग बलियो बनाउन शिक्षा प्राथमिक आवश्यकताका रूपमा रहेको बताए। सर्लाहीलगायत मधेशका जिल्लामा शिक्षा, स्वास्थ्य र सिँचाइ मुख्य समस्या रहेको उल्लेख गर्दै उनले कांग्रेसलाई जिताएर विकासको आधार तयार गर्नुपर्ने बताए।

उनले देशको नेतृत्व गर्ने अवसर पाएमा पाँच वर्षे कार्ययोजनासहित ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार रहेको दाबी गरे। त्यसलाई कार्यान्वयन गर्ने जिम्मा मतदाताको हातमा रहेको उनको भनाइ थियो।