प्रहरीको काम कारबाहीलाई समयसापेक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउन नेपाल प्रहरीले ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२’ सुरु गरेको छ। दुई दिने यस सम्मेलनको मुख्य उद्देश्य प्रहरी संगठनको भावी रणनीति र कार्यदिशा तय गर्नु रहेको छ।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयामबारे नागरिक समाजका प्रतिष्ठित व्यक्तित्व, सुरक्षा विज्ञ तथा विभिन्न क्षेत्रका प्रतिनिधिसँग रणनीतिक अन्तरक्रिया गर्नु अत्यन्त सकारात्मक पहल भएको बताए।
उनले प्रहरी सेवाका नीति निर्माण प्रक्रिया र जनअपेक्षाअनुसारको प्रहरी सेवाको स्वरूप कस्तो हुनुपर्छ भन्ने विषयमा नागरिक तहको सार्थक सहभागिता र अपनत्व भएमा मात्र योजनाहरू स्वीकार्य र व्यवहारिक रूपमा कार्यान्वयन हुनसक्ने स्पष्ट पारे।
सम्मेलनका क्रममा अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा शोध अनुसन्धान गरी तयार पारिएका तीन वटा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। ती प्रतिवेदनमा
- नेपालमा सामाजिक सञ्जालको प्रयोग र साइबर अपराधबीचको अन्तरसम्बन्ध,
- नेपाल प्रहरीमा विद्यमान पोशाकको प्रयोग तथा परिमार्जन,
- ट्राफिक प्रहरी कर्मचारीको कार्यबोझ, सेवा प्रवाह, आचरण र व्यवहार
सम्बन्धी अध्ययन समेटिएका छन्।
गृहसचिव राजकुमार श्रेष्ठले प्रहरी व्यवस्थापन र परिचालनमा देखिएका विद्यमान चुनौतीहरू सम्बोधन गर्न यो सम्मेलन महत्वपूर्ण हुने बताए।
त्यसैगरी, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालको संविधान, प्रहरी ऐन तथा प्रचलित कानुनअनुसार शान्ति सुव्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी तथा व्यावसायिक प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी सदैव प्रतिबद्ध रहेको बताए।
संघीय शासन प्रणालीको कार्यान्वयनसँगै नेपाल प्रहरीको भूमिका, दायित्व र कार्यक्षेत्र बहुआयामिक बन्दै गएको उल्लेख गर्दै उनले परिवर्तित समय सन्दर्भमा संगठनात्मक क्षमता, रणनीतिक सोच, प्रविधिको प्रयोग र अन्तरनिकाय समन्वय सुदृढ गर्नु अहिलेको प्रमुख आवश्यकता र प्राथमिकता भएको बताए।









प्रतिक्रिया