राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा सोमबार आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले नेपाल जापानी निजी क्षेत्रसँग साझेदारी निर्माण गर्न तत्पर रहेको बताएका हुन्।

उनले नेपालमा लगानीका लागि आकर्षक प्रतिफल, नाफा तथा पूँजी फिर्ताका सहज प्रक्रिया सहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरिएको उल्लेख गर्दै वैदेशिक लगानीमा पूर्ण सहयोग, सहजीकरण र सुरक्षा प्रदान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा निर्धक्क लगानी गर्न आग्रह गर्दै नेपालमा लगानी गर्दा दुवै देशलाई फाइदा हुने बताए। ‘नेपालमा लगानी गरे धन पनि हुन्छ, धर्म पनि हुन्छ,’ उनले भने।

नेपाल–जापानबीचको मित्रता सरकारी तहमा मात्र सीमित नरही जनस्तरमा पनि प्रगाढ रहेको उल्लेख गर्दै उनले व्यापारिक समुदायको सक्रिय सहभागिताले दुई देशबीच व्यापार र लगानी सम्बन्ध विस्तारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले नेपाल राजनीतिक स्थिरतासँगै सामाजिक न्याय, सुशासन र समृद्धितर्फ केन्द्रित रहेको बताउँदै नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदै सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्यतर्फ अघि बढिरहेको उल्लेख गरे।

नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी तथा कृषि उद्योगलगायत प्रायः सबै क्षेत्र विदेशी लगानीका लागि खुला गरेको र लगानी तथा व्यापार सहजीकरणका लागि कानुनी, प्रक्रियागत तथा संस्थागत सुधार गरिएको राष्ट्रपति पौडेलले जानकारी दिए।

कार्यक्रममा सहभागी जापानी व्यापारिक समुदायका प्रतिनिधिहरूले नेपालमा प्रशस्त लगानी सम्भावना रहेको थाहा पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृत राई र सहसचिव भृगु ढुंगानाले नेपालमा लगानीका अवसरबारे प्रस्तुति दिएका थिए।