रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामामाथि हातपात भएको छ भने उनी सवार गाडीमा तोडफोड गरिएको छ। उपमेयर लामाका अनुसार सोमबार नगरपालिकाको कार्यालय परिसरमै आफूमाथि कुटपिट तथा दुर्व्यवहार भएको हो।
उनले मेयर सन्तलाल चौधरीको इशारामा वडा नम्बर १ का स्थानीय महिलाहरूको समूहले कार्यालयमै आएर हातपात गरेको आरोप लगाइन्। लामाका अनुसार त्यसअघि मेयरका भाइ–भतिजाले आफू सवार प्रदेश २–०३–००१ झ ००२१ नम्बरको गाडी गुजरा–१ र ९ को सिमानामा पर्ने लमाहा खोलामा रोकेर तोडफोड गरेका थिए। त्यसपछि नगरपालिका पुगेपछि पुनः कार्यालय परिसरमै हातपात भएको उनको भनाइ छ।
उपमेयर लामाले वडा नम्बर १ मा सहकारीमार्फत भइरहेको मलखाद्य वितरणमा नयाँ डिलर दर्ता गराउन मेयर पक्षबाट दबाब आएको तर आफूले कानुनअनुसार मात्र काम गर्न निर्देशन दिएको बताइन्। यही विषयलाई लिएर आक्रमण र गाडी तोडफोड भएको उनको दाबी छ।
घटनाबारे अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै आज इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा लिखित उजुरी दिने उनले जानकारी दिइन्।
गुजरा नगर कार्यपालिका सदस्य विजय साह बानियाँले घटनामा मेयर पक्षका स्थानीय तथा आफन्तको संलग्नता रहेको आरोप लगाउँदै कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए।
यता, मेयर सन्तलाल प्रसाद चौधरीले भने घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। किसानले समयमा मल नपाउँदा आक्रोश व्यक्त गर्ने क्रममा घटना भएको र उपमेयर संयमित नहुँदा अवस्था बिग्रिएको उनको भनाइ छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डीएसपी रुपा लाबुङले घटनाबारे मौखिक जानकारी आएको र अनुसन्धान भइरहेको बताइन्।
२०७९ को स्थानीय तह निर्वाचनमा मेयर चौधरी जसपाबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए भने उपमेयर लामा नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्।







प्रतिक्रिया