गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिँदै आगामी निर्वाचनमा देशले आवश्यक ठानेको व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार उम्मेदवारी फिर्ताको घोषणा गर्दै भट्टराईले आफू निरन्तर जनताको सेवामा सक्रिय रहने बताए। उनले प्रस्तावक र समर्थकप्रति आभार व्यक्त गर्दै भने, “आगामी दिनमा देशले चाहेको व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।”
विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनले स्पष्ट पारे। भट्टराईका अनुसार वर्तमान राजनीतिक अवस्था तरल रहेकाले आफू साझा र अभिभावकीय भूमिकामा रहनु उपयुक्त हुने सुझाव आएको थियो।
“देश अहिले संक्रमणकालीन अवस्थामा छ। यस्तो अवस्थामा चुनावी प्रतिस्पर्धाभन्दा बाहिरै रहेर सल्लाह–सुझाव दिँदै अघि बढ्दा राम्रो हुन्छ भन्ने आग्रह विभिन्न दल र व्यक्तित्वबाट आयो,” उनले भने।
संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण, तीव्र आर्थिक विकास र समृद्धिको आधार निर्माण आफ्नो जीवनको मूल लक्ष्य रहेको उल्लेख गर्दै भट्टराईले आवश्यक पर्दा देशको अभिभावकीय भूमिका निर्वाह गर्ने बताए।
भट्टराईलाई उम्मेदवारी फिर्ताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आग्रह गरेको थियो। रास्वपाले यस क्षेत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। बुर्लाकोटी अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार भई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पराजित भएका थिए।
यसपटक प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। स्रोतका अनुसार प्रचण्डले पनि बाबुराम भट्टराईलाई फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार छन्।







प्रतिक्रिया