अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड आफ्नो नियन्त्रणमा लिन खोजेको योजनाको विरोध गर्ने युरोपेली देशहरूमाथि लगाउने भनिएको आयात कर (ट्यारिफ) फिर्ता लिएका छन्। नाटोका महासचिव मार्क रुट्टेसँग भएको छलफलपछि यस्तो निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत ट्रम्पले ग्रीनल्यान्ड र समग्र आर्कटिक क्षेत्रबारे ‘भविष्यको सम्झौताका लागि ढाँचा’मा सहमति भएको दाबी गर्दै युरोपेली देशमाथि ट्यारिफ नलगाइने घोषणा गरेका हुन्। उनले उक्त सम्झौताले अमेरिका तथा सबै नाटो सदस्य राष्ट्रलाई फाइदा पुग्ने बताए पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।
पछिल्ला केही हप्तादेखि ट्रम्पले डेनमार्कअन्तर्गत रहेको अर्ध–स्वायत्त क्षेत्र ग्रीनल्यान्ड अमेरिकाले नियन्त्रणमा लिनुपर्ने अभिव्यक्ति दिँदै आएका थिए। सोही विषयको विरोध गरेपछि उनले डेनमार्कसहित बेलायत, फ्रान्स, जर्मनी, नर्वे, स्विडेन, फिनल्यान्ड र नेदरल्यान्ड्समाथि फेब्रुअरी १ देखि १० प्रतिशत आयात कर लगाउने चेतावनी दिएका थिए।
ट्रम्पको उक्त धम्कीको युरोपभर तीव्र आलोचना भएको थियो। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले ट्यारिफ धम्की अस्वीकार्य भएको बताउँदै युरोपेली सार्वभौमिकता जोगाइने चेतावनी दिएका थिए। ग्रीनल्यान्ड र डेनमार्कका नेताहरूले पनि अमेरिकी दाबी अस्वीकार गर्दै ‘ह्यान्ड्स अफ ग्रीनल्यान्ड’ नारासहित विरोध प्रदर्शन गरेका थिए।
यसैबीच, स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) मा ट्रम्पले ग्रीनल्यान्ड रणनीतिक रूपमा आवश्यक भए पनि सैन्य बल प्रयोग नगर्ने र तत्काल वार्तामार्फत समाधान खोज्न चाहेको बताएका थिए। तर, डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रास्मुसेनले ग्रीनल्यान्ड हस्तान्तरणसम्बन्धी कुनै पनि वार्ता असम्भव रहेको स्पष्ट पारेका थिए।
ट्यारिफ फिर्ताको घोषणासँगै ग्रीनल्यान्ड विषयमा अमेरिका–युरोपबीच चर्किएको तनाव केही कम हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया