अमेरिकाले एकै दिन ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई काठमाडौं ल्याएर छाडिएको अध्यागमन विभागले जनाएको छ।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेमा ७९ जना पुरुष र एक जना महिला रहेका छन्। उनीहरू मध्ये केहीको कागजात नभेटिएको, केही गैरकानुनी रूपमा अमेरिका बसेको तथा अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेको पाइएको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार डिपोर्ट हुनेमध्ये एक जना विद्यार्थी भिसामा अमेरिका गएका व्यक्ति पनि छन्। ती विद्यार्थीलाई भिसाको अवधि सकिएपछि पनि बसेको भन्दै ‘ओभरस्टे’ कारण डिपोर्ट गरिएको हो।
एसएसपी पंगेनीले बाँकी अधिकांश व्यक्ति अवैध बाटोबाट अमेरिका पुगेको बताए। उनका अनुसार यसरी अमेरिका छिर्नेहरूले डेढ करोड रुपैयाँसम्म खर्च गरेको पाइएको छ। “फिर्ता भएका केही व्यक्तिहरूले अवैध बाटो हुँदै अमेरिका जान डेढ करोड रुपैयाँसम्म बुझाएको देखिएको छ,” उनले भने।
डिपोर्ट भएर आएका सबै नागरिकसँग ब्यूरोले प्रारम्भिक सोधपुछ गरी परिवारको जिम्मा लगाइसकेको छ। यदि कसैले गैरकानुनी रूपमा अमेरिका पठाएको प्रमाण भए उजुरी दिनसमेत ब्यूरोले उनीहरूलाई अनुरोध गरेको छ।







प्रतिक्रिया