गत भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
उक्त रकम बराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्याय, सहसचिव उत्तरकुमार खत्री तथा नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीको समेत उपस्थिति रहेको थियो।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान पुर्याएकोमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले नागरिक लगानी कोषलाई धन्यवाद ज्ञापन गरेका छन्।
अर्थ मन्त्रालयका अनुसार उक्त रकमसहित हालसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १४ करोड ०७ लाख रुपैयाँ जम्मा भइसकेको छ।









प्रतिक्रिया