अन्तरिम सरकारले माघ ४ मा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको अधिवेशन आगामी माघ ४ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि भदौ २७ गते प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतमा नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानस्वरूप २ लाख ८३ हजार ५०३ अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले गोरखापत्र संस्थानको अध्यक्षमा भक्तपुरका गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने, मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने तथा वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ सम्म कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।

यस्तै, सन् २०२५ मार्चमा आएको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगोडा अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।

मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू:
– ईसीमोडको सन् २०२४ को वार्षिक योगदानबापत २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्ने
– वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने
– म्यानमारको भूकम्पबाट क्षतिग्रस्त धार्मिक संरचनाको पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर सहयोग गर्ने
– मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने
– गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी नियुक्त गर्ने
– माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने