वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्युको अवधि बढाएर दिउँसो १ बजेसम्म कायम गरिएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

कर्फ्यु अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ। निस्कनै परेमा नजिकको सुरक्षाकर्मीको समन्वयमा वा १०० नम्बरमा फोन गरेर बाहिर निस्कन भनिएको छ।

कर्फ्युका बेला एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू तथा हवाई टिकट भएका यात्रुहरूको आवागमनलाई सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।

धार्मिक एवं सामाजिक विषयलाई लिएर आइतबारदेखि दुई समुदायले वीरगञ्जमा प्रदर्शन गर्दै आएका छन्। लगातारको प्रदर्शनका कारण वीरगञ्जको अवस्था अशान्त बन्दै गएपछि प्रशासनले कर्फ्यु आदेश जारी गर्नुपरेको हो।