कञ्चनपुरमा उद्धार ढिलाइ हुँदा जोगबुढा नदीमा फसेको बाघ डमरूको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुरमा समयमै उद्धार नहुँदा जोगबुढा नदीमा फसेको बाघको बच्चा (डमरू)को मृत्यु भएको छ। दोधारा चाँदनी नगरपालिका–१ स्थित चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिक जोगबुढा नदीको हिलो र पानीमा फसेको अवस्थामा बुधबार बिहान करिब दुई महिनाको डमरू भेटिएको थियो।

स्थानीयले तत्कालै डिभिजन वन कार्यालय कञ्चनपुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई खबर गरे पनि उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो छ। उद्धार नहुँदै कुर्दाकुर्दै डमरूको मृत्यु भएको बताइएको छ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लापरवाहीका कारण डमरूको मृत्यु भएको दाबी गरेका छन्। उनले उद्धारका लागि आफू घटनास्थल जान खोज्दा निकुञ्जका वार्डेनको अनुमति आवश्यक भन्दै सशस्त्र प्रहरीले रोकेको र निकुञ्ज स्वयंले पनि उद्धार नगरेको आरोप लगाए।

तर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले उद्धारमा ढिलाइ भएको भन्ने आरोप अस्वीकार गरेका छन्। उनका अनुसार दिउँसो करिब २ बजे सूचना पाएपछि चिकित्सकसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो। माउ बाघ आसपासमै रहेकाले बच्चालाई माउले नै लैजाओस् भन्ने उद्देश्यले प्राविधिक टोलीले रेकी गरेर रातिसम्म कुर्दा पनि अन्ततः डमरूको मृत्यु भएको उनले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हाल ४४ वटा बाघ संरक्षणमा रहेका छन्।