सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनामा प्रशासन र स्थानीयबीच पाँच बुँदे सहमति भएको छ। बुधबार राति लौकहीस्थित सशस्त्र प्रहरीको ३ नम्बर पोस्ट नजिक भएको घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका थिए।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान अधिकृत सदस्य रहनेछन्। समितिलाई सात दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
सहमति अनुसार, छानबिन प्रतिवेदनमा सुरक्षा निकायको लापरवाही देखिएमा नियमानुसार राहत तथा क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिनेछ। साथै मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले आवश्यक पहल गर्ने सहमति भएको छ।
त्यस्तै, मृतकका छोरा सशस्त्र प्रहरीमा भर्ना हुन इच्छुक भएमा सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग र सहजीकरण गर्ने उल्लेख छ। सहमतिअनुसार मृतकको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गरिने र त्यसपछि परिवारले अन्त्येष्टि गर्नेछ।







प्रतिक्रिया