गृहमन्त्री अर्यालद्वारा संसद् भवन निरीक्षण, ‘जिएन–जी सहिद योद्धा’ सालिकका लागि स्थान खोज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गर्दै संसद् भवन परिसरमा निर्माण गर्न लागेको ‘जिएन–जी सहिद योद्धाहरूका सालिक’ का लागि उपयुक्त स्थानको अवलोकन गरेका छन्।

जिएन–जी सहिदका परिवार, मन्त्रालयका कर्मचारी तथा सचिवालय सदस्यहरूसहित पुगेका मन्त्री अर्यालले सालिक निर्माणका लागि आवश्यक स्थानको उपलब्धता तथा त्यहाँको वस्तुस्थिति बुझेका हुन्।

सरकारले भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकमा जिएन–जी आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूको सम्झनामा जेनजी स्मारक पार्क निर्माण गर्ने निर्णय गरेको थियो। त्यसपछि कार्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा मारिएका ४२ जना जिएन–जी युवा र तीन प्रहरीलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो।

निरीक्षणका क्रममा मन्त्री अर्यालले निर्माणाधीन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका मुख्य बैठक कक्ष (ग्यालरी) को प्रगति, प्राविधिक पक्ष र निर्माण कार्यको समग्र अवस्था इन्जिनियरहरूसँग बुझेका छन्।

यसैगरी, संसद् भवन परिसरमा बन्दै गरेका अन्य प्राविधिक तथा प्रशासनिक संरचनाहरूको पनि अवलोकन गर्दै उनले आवश्यक जानकारी लिएका छन्। परियोजनाको निर्धारित नयाँ समयसीमाभित्र निर्माण सम्पन्न हुने वा नहुने विषयमा समेत मन्त्री अर्यालले चासो व्यक्त गरेका थिए।