उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन्। पार्टीका संरक्षक तथा मन्त्री कुलमान घिसिङको नेतृत्वको टोलीमा आफू नरहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेकी हुन्।
हेटौँडामा आज बिहानै सडकछेउका घर तथा संरचनामा डोजर चलाएपछि उनी असन्तुष्ट बनेकी थिइन्। यही घटनाप्रति विरोध जनाउँदै उनले शनिबार बिहान पदबाट हट्ने घोषणा गरिन्।
श्रेष्ठले लेखेकी छन्, “म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। अरु अभियन्ता साथीहरू के गर्नुहुन्छ? मेरो नैतिकताले दिएन। म हेटौँडा पीडितको साथ छु।”
पार्टीका संरक्षक कुलमान घिसिङ अहिले सरकारको भौतिक पूर्वाधार, शहरी विकास तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय सम्हालिरहेका छन्। उनी प्रभावशाली मन्त्रालयमा रहँदा नै हेटौँडामा बिहानै डोजर परिचालन भएको थियो, जसले विद्या श्रेष्ठलाई असन्तुष्ट बनाएको बताइएको छ।
केही दिनअघि मात्र औपचारिक घोषणा गरिएको ५१ सदस्यीय केन्द्रीय समितिमा यसअघि पनि विवाद देखिएको थियो। केन्द्रीय सदस्यको सूचीमा नाम आएपछि टासी ल्हाजोमले पनि आफ्नो नाम हटाउन माग गरेकी थिइन्।
उज्यालो नेपाल पार्टी औपचारिक घोषणा भइसकेलगत्तै एकपछि अर्को विवादले चर्चामा आएको देखिन्छ।







प्रतिक्रिया