जाडो बढेपछि वीरगंजका विद्यालयमा पुस ७ देखि ९ गतेसम्म पठनपाठन स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगंज महानगरपालिकाले अत्यधिक जाडो र प्रतिकूल मौसमका कारण पुस ७ गतेदेखि ९ गतेसम्म महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा बढ्दो चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने सम्भावना रहेकाले सावधानीस्वरूप विद्यालय बन्द गरिएको जनाइएको छ। स्थगित गरिएको पठनपाठन वर्षे सट्टे विदाबाट कट्टा हुने गरी लागू गरिएको महाशाखाले स्पष्ट गरेको छ।

महाशाखाका अनुसार पुस ११ गते शैक्षिक क्यालेण्डरअनुसार पहिल्यै सट्टा विदा तय गरिएको छ। त्यसैले पुस १३ गते आइतबारदेखि विद्यालयहरू पूर्ववत् समयमै नियमित रूपमा सञ्चालन हुनेछन्।

महानगरपालिकाले अभिभावक तथा विद्यालय प्रशासनलाई मौसमको अवस्थालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ।