पूर्व ऊर्जा मन्त्री दीपक खड्काको घरमा आगजनी प्रकरणमा तीन अभियुक्तविरुद्ध अदालतमा मुद्दा, दुई जेल चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका तीन जनामध्ये दुई जनालाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ।

गत भदौ २३ र २४ का दिन जेनजी आन्दोलनका क्रममा मन्त्री खड्काको घरमा भएको तोडफोड, आगजनी र डाँकासम्बन्धी अभियोगमा प्रहरी वृत्त महाराजगञ्जले तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सुर्खेत घर भई बुढानीलकण्ठ बस्ने ४४ वर्षीय रणबहादुर सिंह, बुढानीलकण्ठका ३१ वर्षीय सुसम श्रेयठ र काभ्रे घर भई त्यही क्षेत्रमा बस्दै आएकी ३९ वर्षीय रेखा सुनार (सानी सुनार) छन्।

प्रहरीको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले रणबहादुर सिंह र सुसम श्रेयठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ भने रेखा सुनारलाई २५ हजार रुपैयाँ धरौटीमै रिहा गर्ने आदेश भएको छ।

उनीहरूविरुद्ध करिब साढे ७ करोड रुपैयाँको बिगो दाबी गरिएको छ। मन्त्री खड्काका भाइ जीवन खड्काले दायर गरेको जाहेरी अनुसार घर, सरकारी तथा निजी गाडीहरू, सुन–चाँदीका गरगहना, नगद, अमेरिकी डलर, ल्यापटप, कम्प्युटरलगायत सामग्रीहरू तोडफोड र आगजनी गरी चोरी भएको उल्लेख छ।

मुद्दा चलाइएकामध्ये रणबहादुर पहिला ११ वर्ष सेनामा कार्यरत रहेकाले २०६८ सालमा जागिर छाडेका थिए। सुसम बुढानीलकण्ठमै रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए भने रेखा मजदुरी पेशामा संलग्न थिइन्।