श्रीलंकामा लगातार परेको भारी वर्षाले उत्पन्न बाढी र पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। यो हप्ता आएका प्रकोपहरूमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना अझै बेपत्ता रहेको अधिकारीहरूले पुष्टि गरेका छन्। हालको अवस्थालाई पछिल्ला वर्षहरूको सबैभन्दा गम्भीर मौसमी विपद्मध्ये एक मानिएको छ।
डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार चिया बगानका लागि चर्चित बदुल्ला जिल्लामा राति गएको भीषण पहिरोले मात्र २१ जनाको ज्यान लिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूले घर–घरेली बगाएको बाढीको रूप झनै डरावह देखिन्छ। प्रभावित परिवारहरूलाई अस्थायी आश्रयस्थलमा राखिएको छ।
यसैबीच, श्रीलंका ‘दित्वाह’ नामक चक्रवातको सम्भावित प्रभावका लागि तयारी अवस्थामा छ। गहिरो दबाबबाट विकसित भएको उक्त चक्रवात तीव्र गतिमा अघि बढ्दै पूर्वी तटतर्फ आइरहेको छ। यो भारतको तटमा समेत प्रवेश गर्न सक्ने अनुमान गरिएको छ।
डीएमसीका पछिल्ला तथ्यांकअनुसार १७ जिल्लाका करिब ४ हजार मानिस प्रभावित भएका छन्। १,१५८ परिवार विस्थापित हुनुका साथै कम्तीमा १० जना घाइते भएका छन्। ३ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने ३८१ घरमा आंशिक क्षति पुगेको छ। १३१ जनालाई सुरक्षित शिविरमा सारिएको छ।
निरन्तरको वर्षाले मध्य तथा पहाडी क्षेत्रका सडकहरू अवरुद्ध बनाएका छन्। थप बाढी र पहिरोको जोखिम बढेकाले अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन्। यसै क्रममा विश्वविद्यालयले बिहीबारदेखि शनिबारसम्मका सबै परीक्षा स्थगित गरेको घोषणा गरेको छ।
उद्धार टोलीहरू जोखिमयुक्त क्षेत्रमा निरन्तर खोजी तथा राहत कार्यमा जुटेका छन्। सरकारले जनतालाई बढ्दो जलस्तर र सम्भावित पहिरोप्रति विशेष सावधानी अपनाउन आग्रह गरेको छ।







प्रतिक्रिया