नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता घटाउन ३० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ। पछिल्लो समय तरलता अत्यधिक बढिरहेकाले राष्ट्र बैंक आइतबार र बुधबार नियमित रूपमा लामो अवधिका लागि रकम संकलन गर्दै आएको छ। आज पनि ४२ दिनका लागि सो रकम झिकिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो २ बजेसम्म अनलाइनमार्फत निक्षेप संकलनको बोलकबोलमा सहभागी हुन सक्नेछन्। निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र सहभागिता मिल्ने व्यवस्था छ।
यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा पनि प्रयोग गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
बोलकबोल गर्दा न्यूनतम १० करोड र अधिकतम ५ अर्ब रुपैयाँसम्मका दरले भाग जाने गरी आवेदन दिन सकिनेछ। ब्याजदरमा आधारित बोलकबोल प्रणाली लागू हुने र आवश्यक परे बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको यो कदमले बजारमा बढेको तरलता व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया