बलिउड आइकन धर्मेन्द्रको ८९ वर्षमा निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको सोमबार ८९ वर्षको उमेरमा निधन भएको छ। भारतीय समाचार एजेन्सी आईएनएसका अनुसार उनले दिउँसो करिब १ बजे मुम्बईस्थित आफ्नो घरमा अन्तिम श्वास लिए।

उनको विले पार्लेस्थित श्मशानभूमिमा अन्तिम संस्कार जारी छ, जहाँ अमिताभ बच्चन, आमिर खान, सलीम खानलगायत बलिउडका अनेकौं स्टारहरूको उपस्थितिले वातावरण स्तब्ध बनेको छ। धर्मेन्द्रकी पत्नी हेमा मालिनी, छोरी ईशा देओल, तथा अभिषेक बच्चन पनि श्रद्धाञ्जली दिन पुगेका छन्।

निर्देशक करण जोहरले धर्मेन्द्रको निधनलाई “एक युगको अन्त्य” भनेका छन्। उनले धर्मेन्द्रलाई मुख्यधारा भारतीय सिनेमाका असल, करिश्माई र इतिहासमा सदैव अजर–अमर रहने व्यक्तित्वको रूपमा उल्लेख गर्दै गहिरो शोक व्यक्त गरे।

दिउँसो नै धर्मेन्द्रको घर बाहिर एम्बुलेन्स पुगेपछि खबर पुष्टि हुन थालेको थियो। श्मशान घाट परिसरमा ठूलो भीड बढेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसअघि पनि ११ नोभेम्बरमा धर्मेन्द्रको निधनको झूटा खबर फैलिएको थियो, जसलाई परिवारले तुरुन्तै खारेज गरेको थियो। हेमा मालिनीले त्यतिबेला मिडियालाई परिवारको गोपनीयता सम्मान गर्न चेतावनी दिएकी थिइन्। त्यही दिन रक्षा मन्त्री राजनाथ सिंहले समेत शोक व्यक्त गर्दै पोस्ट गरेका थिए, तर खबर गलत साबित भएपछि उनले पोस्ट हटाएका थिए।

धर्मेन्द्रलाई १२ नोभेम्बरमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो। त्यसको भोलिपल्ट अभिनेता सनी देओलले मिडिया व्यहोराबाट आक्रोश व्यक्त गर्दै “सबैको परिवार हुन्छ, लाज लाग्दैन?” भन्दै गुनासो गरेका थिए।

भारतीय सिनेमाका ‘ही–म्यान’का रूपमा चिनिने धर्मेन्द्रको निधनसंगै बलिउडले आफ्नो एक अमर अध्याय गुमाएको छ।