प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले समकालीन नेपाली राजनीतिमा ठूलो चेतना जागरण ल्याएको दाबी गरेका छन्। आइतबार पार्टीको एकता सभामा बोल्दै उनले समावेशीकरणमा राज्य असफल हुँदा कस्तो स्तरको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले स्पष्ट देखाइदिएको बताए।
उनका अनुसार, पछिल्लो पुस्तालाई राजनीतिक प्रणालीले समेट्न नसक्दा पैदा भएको असन्तुष्टिले नेपाली राजनीतिक नेतृत्वलाई चेताउने काम गरेको छ। “जेनजी आन्दोलनले राजनीतिक चेतना खोलिदिएको छ,” नेता परियारले भने, “समावेशी बनाउन नसक्दा पुस्तौपुस्ताले कति ठूलो प्रतिरोध जनाउन सक्छन् भन्ने प्रमाण अहिले हामीले देख्यौं।”
घोषणासभा कुनै साधारण पार्टी गठन कार्यक्रम नभई देश संकटमा रहेको बेला लोकतान्त्रिक, प्रगतिशील तथा राष्ट्रचिन्तक शक्ति एक ठाउँमा उभिनुपर्ने आवश्यकता बनेको उनले बताए। उनका अनुसार संविधानले दिएको लोकतान्त्रिक अधिकार नै खोसिने हो कि भन्ने खतरा बढ्दै गएको र संविधानमाथि गम्भीर संकट देखिन थालेको छ।
परियारले आफ्नो पुस्ताको सबैभन्दा ठूलो चुनौती ‘राज्यप्रति हराएको विश्वास पुनःस्थापना गर्नु’ रहेको बताएका छन्। उनले अहिलेको राजनीतिक नेतृत्वले युवापुस्ताको आवाजलाई सुन्ने, समावेशीकरणलाई प्राथमिकता दिने र राज्यका अंगप्रति जनविश्वास जगाउने कार्यलाई मुख्य एजेन्डा बनाउनुपर्ने आवश्यकतामाथि जोड दिए।







प्रतिक्रिया