बाराको सिमरामा जेनजी युवा समूह र सुरक्षाकर्मीबीच भएको झडपमा चार जना घाइते भएका छन्। घाइतेमध्ये निशान्त श्रेष्ठ, सन्देश घिमिरे, सुमित चौधरी, र निलहरी सापकोटा रहेका छन्। प्रहरीका अनुसार दुई जनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ भने अन्य दुई जनाको सिमरामै उपचार भइरहेको छ।
घटना पश्चात् सुरक्षाका कारण सिमरामा कर्फ्यु जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश दिँदै बिहान १ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने बताएको छ। आदेशअनुसार वीरगञ्ज पथलैया सडक खण्डको पथलैया चोकदेखि जीतपुर लल्कापुलसम्मका ५ सय मिटर दायाँ–बायाँ र सिमरा विमानस्थल वरपरका ५ सय मिटर क्षेत्रमा आवतजावत, भेला, जुलुस, सभा वा प्रदर्शन गर्न निषेध गरिएको छ।
जेनजीका अगुवालाई कुटपिट गर्ने आरोपमा एमालेका भ्रातृ संगठन युवासंघका कार्यकर्ताहरूविरुद्ध कारबाहीको माग गर्दै जेनजी युवाहरूले बिहीबार पनि प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण त्रिभुवन राजपथको वीरगञ्ज–पथलैया खण्डमा यातायात ठप्प छ।
सिमरा बजारका पसल र व्यवसाय बन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले झडपको क्रम रोकिने क्रममा आवश्यक परेको अवस्थामा केही सेल अश्रुग्यास प्रहार गरिएको बताए।
राजमार्गमा प्रदर्शन जारी रहँदा देशकै प्रमुख भन्सार वीरगञ्जबाट छुट्ने मालवाहक सवारी साधन र वीरगञ्जबाट देशका विभिन्न स्थानका लागि छुट्ने तथा आउने सवारी साधनहरू रोकिएका छन्।







प्रतिक्रिया