हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सामाजिक सञ्जालमार्फत तीव्र विरोध अभियान सुरु गरेका छन्। बुधबार बारामा जेन–जी अभियानका सहभागीसँग भएको कुटपिट प्रकरणमा गृहमन्त्रीको “लाचारीपन” जिम्मेवार रहेको आरोप लगाउँदै गुरुङले फेसबुकमा लगातार कडा अभिव्यक्ति दिँदै आएका छन्।
गुरुङले फेसबुकमार्फत् गृहमन्त्रीको राजीनामा माग गर्दै, “मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ” भन्ने शीर्षकसहितको पोस्टर सार्वजनिक गरेका छन्। पोस्टरसँगै गृहमन्त्री अर्यालविरुद्ध तीनवटा ह्यासट्याग पनि उल्लेख गरिएको छ।
यसअघि, उनले गृहमन्त्रीले जेन–जी आन्दोलनबाट जन्मिएको जनमत, रगतको बलिदान तथा आन्दोलनकारीहरूको योगदान “बिर्सिएको” आरोप लगाएका थिए। उनले भनेका छन्,
“गृहमन्त्रीले आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट र जेनजी भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो।”
गुरुङले चेतावनी दिंदै थपे, “यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारी र हत्यारालाई समात्न नसक्ने हो भने, परिवर्तनका लागि लड्ने युवामाथि कुटपिट हुँदा चुप लागेर बस्ने हो भने, ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान सुरु गर्छु।”
सुदन गुरुङ भदौ २३ र २४ को जेन–जी आन्दोलनमा गरिएका दमनका दोषीलाई पक्राउ गरी कारबाही गर्न सरकारलाई निरन्तर दबाब दिंदै आएका छन्। सरकार बेवास्ता गरिरहेको आरोप लगाउँदै उनले बुधबार पनि फेसबुकमा गृहमन्त्रीलाई लक्षित गर्दै प्रश्न उठाएका थिए—
“आफूलाई संविधानविद् भन्ने गृहमन्त्रीज्यू, संविधानको कुन धारामा ‘सानालाई ऐन, ठूलाई चैन’ लेखिएको छ? यदि विधिको शासन लागू नहुने हो भने पुरानो शासन र अहिलेकोमा के फरक भयो?”
गृहमन्त्री अर्यालले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।







प्रतिक्रिया