मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सात राजनीतिक दलहरूले आज (आइतबार) जनकपुरधाममा राष्ट्रिय झण्डासहित विरोध प्रदर्शन गरेका छन्। जसपा नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र जनमत पार्टीका सांसद, नेता तथा कार्यकर्ताहरू मधेश भवन अगाडि सडकमै बसेर शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी भएका छन्।
सांसद र नेताहरूले मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलविरुद्ध नारा लगाउँदै नियुक्ति असंवैधानिक भएको भन्दै असन्तोष प्रकट गरेका छन्। लोसपाका सांसद परमेश्वर साहले अदालतको फैसला आज आउने भएकाले उनीहरू आशावादी रहेको र अदालतमाथि पूर्ण विश्वास रहेको बताए। उनले अदालतले न्यायपूर्ण फैसला गर्नेमा विश्वास व्यक्त गर्दै भने, “अन्य प्रदेशमा समान परिस्थितिको नजिर अनुसार पनि हामीले जित सुनिश्चित हुने विश्वास राखेका छौं।”
पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको एक होटलमा यादवलाई सपथ खुवाएपछि विरोध प्रदर्शन निरन्तर जारी छ। सात दलहरूले यस नियुक्तिको विरोधमा रिट पनि दर्ता गरिसकेका छन्। सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको छ र सम्पूर्ण कागजातसहित दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।







प्रतिक्रिया