काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि ब्रोडकास्टिङ राइट्स (प्रसारण अधिकार) वितरणमा नेपाल क्रिकेट संघ (क्यान) ले हेलचेक्र्याइँ र अनियमितता गरेको आरोप लागेको छ। स्रोतका अनुसार, क्यानले टेलिभिजनहरूलाई पर्याप्त मार्केटिङ समय नदिई र अन्तिम समयमा नियम परिवर्तन गरेर प्रक्रिया अघि बढाएको पाइएको छ। सामान्यतया टेन्डर कम्तीमा दुई महिना अघि नै आह्वान गर्नुपर्नेमा, क्यानले यसपटक केवल एक साताअघि मात्र टेन्डर खोलेको थियो। पहिलो चरणमा ब्रोडकास्टिङ अधिकारका लागि बाँडिएको बिडिङ फारममा नेपाली टेलिभिजनलाई एक्सक्लुसिभ अधिकार दिने भनिए पनि अन्तिम समयमा क्यानले त्यसलाई ननएक्सक्लुसिभमा परिवर्तन गरेको थियो।
क्यानले टेन्डर खुल्ने समयभन्दा दुई घण्टा अघि मात्रै इमेलमार्फत् नेपाली टेलिभिजनहरूलाई यो परिवर्तनको सूचना दिएको थियो, जसका कारण मार्केटिङ तयारी गर्न नसकिएको गुनासो उनीहरूको छ। टीभी टूडेका प्रबन्ध निर्देशक विकास लामिछानेले टेन्डर प्रक्रियामा नै क्यानको निहित स्वार्थ देखिएको आरोप लगाएका छन्। उनले भने, “बिडिङ फारम बाँड्दा नेपालका टेलिभिजनलाई पनि एक्सक्लुसिभ भनिएकोमा अन्तिम समयमा त्यसलाई परिवर्तन गर्दै ननएक्सक्लुसिभ बनाइयो।”
यसैबीच, क्यानले मंगलबार खुल्नुपर्ने टेन्डरलाई साँझ मात्र रद्द सूचना पठाएर अर्को दिन सारेको, र पछि सबैभन्दा बढी दाबी गर्ने कम्पनीलाई अस्वीकार गरेको बताइएको छ। यस्तो निर्णयप्रति नेपाली टेलिभिजन च्यानलहरू असन्तुष्ट बनेका छन् भने क्यानले अहिलेसम्म यसबारे स्पष्ट स्पष्टीकरण दिएको छैन।










प्रतिक्रिया