काठमाडौँ — सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीमाथि विवादास्पद रूपमा सरकार गठन गराएको आरोप लगाउँदै तत्काल प्रभावले हटाउने निर्णय गरेको हो।
गत रात नेकपा (एमाले) का मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटलमै शपथ खुवाएको घटनाले राजनीतिक तहमा ठूलो विवाद निम्त्याएको थियो। यही घटनापछि सरकारले १२ घण्टाभित्रै भण्डारीलाई बर्खास्त गरेको हो।
सरकारले नयाँ प्रदेश प्रमुखका रूपमा सुरेन्द्र लाभको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको छ। लाभको नियुक्ति भएलगत्तै मधेश प्रदेशमा नयाँ राजनीतिक समिकरण र सत्ता व्यवस्थापनको दिशा स्पष्ट हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया