तेल अवीव — इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा शान्ति सम्झौताको पहिलो चरणमा हमास र इजरायलबीच भएको सम्झौताबारे प्रतिक्रिया दिएका छन्। नेतन्याहूले यस सम्झौतालाई इजरायलका लागि “ठूलो दिन” भनेर मूल्याङ्कन गरेका छन्। उनले आफ्नो सरकारको बैठक बिहीबार बोलाएर सम्झौतालाई अनुमोदन गर्ने र इजरायली बन्धकहरूलाई घर फर्काउने प्रक्रिया अघि बढाउने बताएका छन्।
नेतन्याहूले माइक्रोब्लगिङ प्लेटफर्म एक्समा पोस्ट गर्दै भने, “योजनाको पहिलो चरणले मञ्जुरी पाउनेबित्तिकै हाम्रा सबै बन्धकहरूलाई आफ्नै घर ल्याइनेछ। यो कूटनीतिक सफलता हो र इजरायलका लागि राष्ट्रिय तथा नैतिक विजय पनि हो।”
उनले यो उपलब्धि मित्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अथक प्रयास र नेतृत्वको कारण सम्भव भएको बताएका छन्। नेतन्याहूले लेखेका छन्, “म राष्ट्रपति ट्रम्पलाई उनको नेतृत्व, साझेदारी, इजरायलको सुरक्षा र हाम्रा बन्धकहरूको स्वतन्त्रताप्रतिको अटल प्रतिबद्धताको लागि धन्यवाद दिन्छु।”
यस सम्झौताले क्षेत्रीय शान्ति प्रयासमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ र बन्धकहरूको सुरक्षित घर फर्किनुले इजरायल र अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश दिएको छ।









प्रतिक्रिया