थाइल्यान्ड–कम्बोडिया तनाव बढ्दो: रातभरै चलेको झडप, मृत्यु संख्या ६ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा तनाव रोकिएको छैन। सोमबार मध्यरातदेखि मंगलबार बिहानसम्म पनि दुवै देशबीच गोलीबारी र झडप जारी रहेको कम्बोडियाले जनाएको छ। कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार थाई सेनाले सोमबार मध्यरातपछि बान्टेय मिन्चे प्रान्त नजिक तीव्र आक्रमण गरेको छ। रोयटर्सका अनुसार थाइल्यान्डले भने आफ्नो क्षेत्रमा घुसपैठ गरेको कम्बोडियाली सेना हटाउन कारबाही गरिएको दाबी गरेको छ।

आक्रमणका क्रममा राष्ट्रिय राजमार्गमा यात्रा गरिरहेका दुई नागरिकको मृत्यु भएको कम्बोडियाले जनाएको छ। यससँगै पछिल्लो द्वन्द्वमा मृतक संख्या ६ पुगेको रोयटर्सले उल्लेख गरेको छ। झडपमा थाइल्यान्डका एक सैनिक पनि मारिएका छन्। दुवै देशले एकअर्कामाथि ‘पहिलो आक्रमण’ गरेको आरोप लगाइरहेका छन्। गत जुलाईको युद्धविरामपछि दुई देशबीच देखिएको यो सबैभन्दा गम्भीर झडप मानिएको छ।