इमरान खानको निधनको हल्लापछि इस्लामाबाद–रावलपिण्डीमा धारा १४४, प्रदर्शन पूर्ण प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको मृत्युको हल्ला र सम्भावित अशान्ति फैलिन सक्ने जोखिमका कारण इस्लामाबाद र रावलपिण्डीमा शुक्रबारदेखि धारा १४४ लागू गरिएको छ। यो प्रतिबन्ध डिसेम्बर १ देखि ३ गतेसम्म रहनेछ।

प्रशासनका अनुसार यस अवधिमा कुनै पनि विरोध प्रदर्शन, सभा, र्‍याली, जुलुस, धर्ना वा ५ जनाभन्दा बढी मानिसको भीड पूर्ण रूपमा निषेधित गरिएको छ। साथै हतियार, लाठी, गुलेली, पेट्रोल बम, विस्फोटक बस्तु बोक्न, घृणात्मक भाषण दिन, प्रहरीको ब्यारिकेडिङ हटाउने प्रयास गर्न, दुई जना एकै मोटरसाइकलमा यात्रा गर्न र लाउडस्पीकर प्रयोग गर्न समेत रोक लगाइएको छ।

जिल्ला गुप्तचर समितिले केही समूहहरूले ठूलो जनसमूह परिचालन गरी संवेदनशील स्थान तथा सरकारी भवनहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएपछि यो कदम उठाइएको प्रशासनले स्पष्ट पारेको छ।

यता, पीटीआई नेता असद कायसरले अदालतले आदेश कार्यान्वयन गर्न असफल भएको आरोप लगाउँदै विपक्षी सांसदहरूले इस्लामाबाद उच्च अदालत बाहिर प्रदर्शन गर्ने र त्यसपछि धर्ना अदियाला जेलतर्फ लैजाने बताए।
गत हप्ता खैबर पख्तुनख्वाका मुख्यमन्त्री इमरान खानलाई भेट्न नपाएपछि जेल बाहिर धर्नामा बसेका थिए, भने खानका परिवारका सदस्यहरूलाई पनि लामो समयदेखि भेटघाटको अनुमति दिइएको छैन।

यसबीच, पाकिस्तानका न्याय राज्यमन्त्री अकील मलिकले खैबर पख्तुनख्वामा सुरक्षा अवस्था अत्यन्तै कमजोर बनेको भन्दै त्यहाँ राष्ट्रपति शासन लागू गर्ने विकल्प विचाराधीन रहेको बताएका छन्। उनले प्रदेश सरकार केन्द्रसँग समन्वय गर्न असफल भएको आरोप पनि लगाए।