वित्तीय प्रणालीमा तरलता अत्यधिक रहेको अवस्था नघटेपछि नेपाल राष्ट्र बैंकले आइतबार फेरि ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट झिक्न प्रक्रिया थालेको छ। पछिल्लो समय ऋण दिन मिल्ने रकम बढी भएपछि राष्ट्र बैंकले दीर्घकालीन निक्षेप संकलन उपकरणमार्फत क्रमशः ठूलो मात्रामा तरलता सोस्ने नीति अवलम्बन गर्दै आएको छ।
आज ८६ दिनका लागि बजारबाट रकम झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ। पछिल्ला तीन वर्षदेखि आइतबार र बुधबार नियमित रूपमा निक्षेप संकलनमार्फत तरलता व्यवस्थापन भइरहेको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोलमा भाग लिन सक्नेछन्। बोलकबोल घटीमा १० करोड र बढीमा ५ करोडका गुण(भाग जाने गरी)मा गर्नुपर्ने छ। साथै बहुब्याजदरमा बहुबोलकबोल राख्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।
निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र सहभागी हुन दिइनेछ। यस्तै, यसरी खरिद गरिएको उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा पनि प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ।
वित्तीय प्रणालीमा तरलता अत्यधिक हुँदा बजार ब्याजदर घट्ने, ब्यवसायिक बैंकहरूमा फाल्तु रकम थुप्रिनेजस्ता समस्या देखिँदै आएका छन्। यही अवस्थालाई सन्तुलनमा ल्याउन राष्ट्र बैंकले लगातार ठूलो परिमाणमा तरलता सोस्ने नीति कडाइका साथ लागू गरिरहेको छ।









प्रतिक्रिया