भारत सरकारले नेपाललाई थप १० वटा बेलिब्रिज (फलामे पुल) अनुदानमा प्रदान गर्ने भएको छ। यो सहायता भारी वर्षा, बाढी र पहिरोका कारण क्षतिग्रस्त सडक सञ्जाललाई छिटो सुचारु गर्नका लागि उपलब्ध गराइएको हो।
गत वर्ष पनि भारतले नेपाललाई १० वटा बेलिब्रिज उपलब्ध गराएको थियो। यस वर्षको सहायता नेपाल सरकारको अनुरोधपछि प्रदान गरिएको हो। उपलब्ध गराइएका १० पुलमध्ये पहिलो ७० मिटर लम्बाइ र ४.२५ मिटर सिंगल लेन चौडाइ भएको बेलिब्रिज बिहीबार नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। बाँकी नौ पुल एक हप्ताभित्र नेपाल आइपुग्ने जनाइएको छ।
हेटौंडामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पुल ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङलाई हस्तान्तरण गरे। पुलको भारबहन क्षमता ३८ मेट्रिक टन रहेको छ।
समारोहमा मन्त्री घिसिङले प्राकृतिक विपद्को बेला भारतले प्रदान गर्ने सहयोगले क्षतिग्रस्त पूर्वाधार छिटो पुनर्स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले संकटका समयमा हुने यस्तो सहकार्यले दुई देशबीचको साझेदारी अझ बलियो भएको पनि बताए।
त्यस्तै, भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा भारत सधैँ सहयोगका लागि तत्पर रहने उल्लेख गर्दै पुल जडानका लागि आवश्यक प्राविधिक टोली पनि छिट्टै आउने जानकारी दिए।
यस सहायताले बाढीग्रस्त क्षेत्रका सडक सञ्जाल पुनर्निर्माण र वातावरण सहज बनाउन ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया