अमेरिकाको फ्लोरिडामा जेट विमान दुर्घटना, नौ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा आइतबार भएको जेट विमान दुर्घटनामा सवार सबै नौ जनाको मृत्यु भएको छ। अमेरिकाका यातायातमन्त्री सीन डफीले दुर्घटनामा कसैको पनि ज्यान नबचेको पुष्टि गर्नुभएको हो।

पाम बीच काउन्टीको क्रेस्टहेभननजिकै स्थानीय समयअनुसार दिउँसो १२ः५० बजे दुर्घटना भएको थियो। उक्त स्थान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट मार–ए–लागोबाट करिब १४ किलोमिटर टाढा छ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) का अनुसार लिअरजेट ६० विमान टेक्ससको अस्टिनबाट बहामसका लागि उडेको थियो। दुर्घटनापछि आवासीय क्षेत्रको सडकमा विमानका भग्नावशेष, कङ्क्रिटका टुक्रा र आगोको मुस्लो देखिएको थियो।

अमेरिकी सञ्चारमाध्यमका अनुसार दुर्घटनाअघि विमान तीव्र गतिमा तल झरिरहेको थियो। सीबीएस न्यूजले सार्वजनिक गरेको एयर ट्राफिक कन्ट्रोलको अडिओमा विमानचालकले विमान प्रतिमिनेट १० हजार फिटको गतिमा झरिरहेको जानकारी दिएको सुनिन्छ। त्यसपछि उनले विमान ओभरस्पिडको अवस्थामा रहेको र प्रतिमिनेट २० हजार फिटको गतिमा तल झरिरहेको भन्दै आपत्कालीन अवस्था घोषणा गरेका थिए।

विमानचालकले टावरलाई ‘हाम्रो दुर्घटना हुँदै छ, हामीसँग जोगिने समय छैन’ भनेको सीबीएसले जनाएको छ।

फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले दुर्घटनाको भिडिओ निकै विचलित पार्ने खालको रहेको बताउनुभएको छ। उहाँका अनुसार विमान आकाशबाट क्षेप्यास्त्र खसेजस्तै गरी जमिनमा ठोक्किएको र ठूलो विस्फोट भएको देखिन्छ।

दुर्घटनामा विमानमा सवार व्यक्तिहरूको पहिचान खुलिसकेको छैन। गभर्नर डिसान्टिसले घटनास्थलमा रहेका अन्य व्यक्तिको मृत्यु वा घाइते भएको सूचना नआएको बताउनुभएको छ।

पाम बीच काउन्टी फायर रेस्क्यूले घटनालाई सामूहिक हताहतीको अवस्था घोषणा गरेको छ। दुर्घटनापछि नजिकैको बस्तीबाट करिब ६०० स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

दुर्घटनाका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनसहितका पूर्वाधारमा क्षति पुगेको छ। प्रभावित सडक पुनः सञ्चालनमा आउन कम्तीमा ३० दिन लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।

दुर्घटनाका बेला उक्त क्षेत्रमा आँधीबेहरीको चेतावनी जारी गरिएको थियो र मुसलधारे वर्षा भइरहेको थियो। घटनाको अनुसन्धानका लागि राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) लाई सहयोग गर्न एफएएले टोली घटनास्थलमा पठाउने जनाएको छ।