जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेलसेवा सञ्चालनको तयारी, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन गर्ने योजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म विशेष रेलसेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सातामा एक दिन अयोध्याबाट जनकपुरधाम आउने गरी रेल सञ्चालनको तयारी भइरहेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा विशेष रेलसेवाको उद्घाटन गर्ने गरी दुवै पक्षले तयारी गरिरहेका छन्। यद्यपि, उद्घाटनको औपचारिक मिति भने तय भइसकेको छैन।

प्रबन्ध सञ्चालक पराजुलीका अनुसार रेलसेवा सञ्चालनका लागि नेपाल र भारतका रेलवे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ। जनकपुरधामदेखि अयोध्यासम्म रेल सञ्चालन गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढाइएको उनले बताए।

रेलसेवामा यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले लिने विषयमा सैद्धान्तिक सहमति भएको छ। केही दिनअघि दुवै देशका रेलवे, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीको टोलीले जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो।

रामायण सर्किटअन्तर्गत सञ्चालन गर्न लागिएको उक्त रेलसेवाले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। माता जानकीको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्या प्रत्यक्ष रेलसेवामार्फत जोडिँदा दुवै देशका धार्मिक पर्यटक तथा तीर्थयात्रीलाई आवतजावतमा सहज हुने जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दासले बताए।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले पनि रेलसेवा सञ्चालनले धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउनुका साथै पर्यटन र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए। उनका अनुसार यसबाट जनकपुरधामका होटल, यातायात र व्यापार व्यवसायमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

हाल नेपालमा भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालन हुँदै आएको छ।