छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरेको भन्दै गगन थापाद्वारा सरकारको नियतमाथि प्रश्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गर्ने अनुसन्धान निष्पक्ष हुनेमा गम्भीर आशङ्का व्यक्त गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा गठन भएका विभिन्न छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरी थन्क्याइएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका हुन्।

थापाले घटना सामसुम पार्न छानबिन समिति गठन गर्ने तर त्यसका प्रतिवेदन सार्वजनिक नगर्ने सरकारी प्रवृत्तिको आलोचना गरे। विगतका उदाहरण हेर्दा समिति गठन औपचारिकतामा मात्र सीमित भएको उनको भनाइ थियो।

उनले गृहमन्त्रीको सम्पत्तिबारे प्रश्न उठेपछि गठन भएको छानबिन समिति, भदौ २४ गतेको घटना तथा सुनसरीको कप्तानगञ्ज घटनाबारे गठित समितिका प्रतिवेदन कहाँ छन् भन्दै सरकारसँग प्रश्न गरे।

सरकारले आफ्नो राजनीतिक स्वार्थअनुसार आवश्यक प्रतिवेदन मात्र प्रयोग गर्ने गरेको आरोप लगाउँदै थापाले बाँकी प्रतिवेदन गुपचुप राखिएको बताए। यसले जनतालाई गुमराहमा राख्ने र नागरिकलाई हेप्ने काम भएको उनको टिप्पणी थियो।

थापाले सरकारको कार्यशैलीप्रति नागरिकलाई सचेत रहन आग्रह गर्दै राज्यका गतिविधिको जवाफदेहिता खोज्न नागरिकस्तरबाटै निगरानी र खबरदारी आवश्यक रहेको बताए।