स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्पेनमा दुई उच्चगतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनापछि सरकारले बिहीबारदेखि तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् भने उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका यात्रुको खोजी र मृतकको पहिचान गर्ने काम जारी राखेका छन्।

दुर्घटना बुधबार बिहान मड्रिडबाट सेभिलतर्फ जाने रेलमार्गमा भएको हो। निजी रेल सञ्चालक कम्पनी इरियोको रेल रोकिएको अवस्थामा सरकारी रेल कम्पनी रेन्फेको रेल पछाडिबाट ठोक्किएको थियो। ठक्करका कारण रेलका डब्बा लिकबाट खसेर भीरतर्फ पुगेका थिए।

उद्धारकर्मीहरूले रातभर शक्तिशाली बत्तीको सहायताले क्षतिग्रस्त डब्बाहरू काटेर यात्रुको खोजी गरेका थिए। उद्धार तथा राहत कार्यमा सयौँ सुरक्षाकर्मी र प्राविधिक परिचालन गरिएको छ। दुर्घटनास्थलमा ड्रोन र हेलिकप्टरसमेत प्रयोग गरिएको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरिने बताएका छन्। रेल सुरक्षामा कमजोरी वा लापरबाही भएको पाइए कडा कदम चालिने उनको भनाइ छ।

स्पेनका यातायातमन्त्री ओस्कर पुएन्तेका अनुसार रेलको स्वचालित नियन्त्रण प्रणालीमा समस्या आएपछि करिब ६३ किलोमिटर रेलमार्गमा रेलहरू रोकिएका थिए। त्यसपछि मड्रिडस्थित नियन्त्रण केन्द्रले रेलहरूलाई पुनः सञ्चालन गर्न निर्देशन दिएको थियो। तर, नियन्त्रण प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआउँदै रेललाई अघि बढ्न अनुमति दिइएको विषयमा प्रश्न उठेको छ।

मन्त्रीका अनुसार नियन्त्रण केन्द्रको निर्देशनपछि रेन्फेको रेल करिब २५ किलोमिटर अघि बढेपछि रोकिएको इरियोको रेलसँग ठोक्किएको थियो। दुर्घटनाको वास्तविक कारण र नियन्त्रण प्रणालीको भूमिकाबारे अनुसन्धान भइरहेको छ।

इरियो कम्पनीले आफ्नो रेललाई रेन्फेको रेलले पछाडिबाट ठक्कर दिएको जनाएको छ। दुर्घटनाका प्रत्यक्षदर्शीहरूले यात्रुहरू चिच्याइरहेको, केही यात्रु डब्बाभित्र च्यापिएको र केही स्थानमा धुवाँ तथा आगलागी भएको बताएका छन्।

यस वर्ष स्पेनमा भएको यो दोस्रो ठूलो घातक उच्चगतिको रेल दुर्घटना हो। घटनाले देशको रेल सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।