सरकारलाई अहङ्कार त्यागेर जिम्मेवार बन्न डा. भट्टराईको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूलाई जिम्मेवार र विनम्र भएर काम गर्न सुझाव दिएका छन्।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा डा. भट्टराईले सरकारमा नयाँ व्यक्तिहरू रहेकाले राज्य सञ्चालनको अनुभव हासिल गर्न समय लाग्ने भन्दै कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताएका हुन्।

सरकारलाई अहङ्कार त्याग्न आग्रह गर्दै उनले नयाँले पुरानाबाट सिक्ने र पुरानाले नयाँलाई सहयोग गर्दै अघि बढ्नु नै अहिलेको सही बाटो भएको बताए। सरकारका प्रारम्भिक कामलाई लिएर तत्काल नकारात्मक आलोचना गर्नुभन्दा गल्ती सुधार गर्दै अघि बढ्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’ले सार्वजनिक गरेको खोजमूलक प्रतिवेदनबारे पनि सरकार र सम्बन्धित जिम्मेवार व्यक्तिहरूले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ छ। नेपालजस्तो भू–राजनीतिक रूपमा संवेदनशील मुलुकमा वैदेशिक चासोलाई पूर्णतः नकार्न नसकिने भन्दै उनले दुष्प्रचार वा आरोपबारे सत्यतथ्य नागरिकसमक्ष प्रस्ट पार्नुपर्ने बताए।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’को प्रसङ्गमा डा. भट्टराईले उनको परिणाममुखी काम गर्ने शैली सकारात्मक रहेको टिप्पणी गरे। बाहिरी प्रचारभन्दा चुपचाप काम गर्ने शैली राम्रो भए पनि वर्तमान संवैधानिक व्यवस्थाअनुसार संसद्प्रति उत्तरदायी हुने दायित्वबाट पन्छिन नमिल्ने उनले स्पष्ट पारे।