काठमाडौं — हलिउड पप संगीतका महानायक माइकल ज्याक्सनको जीवन र करियरमा आधारित बायोपिक फिल्म ‘माइकल’ को ट्रेलर लायन्सगेटले बिहीबार सार्वजनिक गरेको छ।
फिल्मको निर्देशन एन्टोइन फुकुवाले गरेका हुन् भने यो २०२६ अप्रिल २४ मा विश्वभर रिलिज हुने तय गरिएको छ। सुरुमा २०२५ अक्टोबर ३ मा प्रदर्शन गर्ने योजना भए पनि पछि मिति पर सारिएको हो।
टिजर ट्रेलरमा माइकल ज्याक्सनको पहिलो झलक देखाइएको छ, जसमा उनको भूमिका भतिजा जाफर ज्याक्सनले निभाएका छन्। फिल्मले ज्याक्सनको संगीत यात्रा, व्यक्तिगत जीवन र पारिवारिक सम्बन्धहरूलाई पर्दामा जीवित बनाउने प्रयास गरेको छ।
फिल्ममा माइल्स टेलरले ज्याक्सनका वकिल र सल्लाहकार जोन ब्रान्काको भूमिका निभाएका छन् भने कोलम्यान डोमिंगोले उनका बुबा जो ज्याक्सनको भूमिका निभाएका छन्।
फिल्म ‘माइकल’ लाई विश्वभरका ज्याक्सनका प्रशंसकका लागि उनलाई पर्दामा नजिकबाट अनुभव गर्ने सुनौलो अवसरका रूपमा हेरिएको छ। यो फिल्मले पप संगीतको राजा भनेर चिनिने माइकल ज्याक्सनको जीवनका उतारचढाव, सफलता र चुनौतीपूर्ण क्षणहरूलाई उजागर गर्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया