भदौ २३–२४ का घटनामा गोली हान्ने आदेश कसैले दिएको होइन : प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रहरीलाई गोली हान्ने आदेश कसैले नदिएको बताएका छन्। बिहीबार इमेज च्यानलको कार्यक्रम ‘हटसिट’मा अन्तर्वार्ता दिँदै उनले त्यो घटना तत्कालीन परिस्थितिको परिणाम भएको स्पष्ट पारे।

भदौ २३ गते काठमाडौं र इटहरीमा भएको प्रदर्शनका क्रममा गोली लागेर १९ जनाको मृत्यु भएको थियो। त्यसपछि भदौ २४ गते देशभर फैलिएको हिंसात्मक घटनामा थप ५७ जनाले ज्यान गुमाएका थिए। तीमध्ये २३ जना आन्दोलनकारी, १० जना कैदी, तीन प्रहरी र अन्य ४१ जनाको मृत्युबारे अझै स्पष्ट विवरण आएको छैन।

घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि आरोप लगाइँदै आएको छ। तर खापुङले भने, “प्रधानमन्त्री वा गृहमन्त्रीले त्यस्तो आदेश दिन्नन्। सबैले आफ्नो कानुनी जिम्मेवारीअनुसार काम गरेका हुन्।”

उनले घटनाको जिम्मेवारी लिन आफू तयार रहेको पनि बताए। “मानिसको मृत्यु आफैंमा दुःखद् हो। म व्यक्तिगत रूपमा क्षमाप्रार्थी छु,” उनले भने, “तर प्रहरीको भूमिका राज्यका संवेदनशील संरचना जोगाउन कानुनी दायित्व पूरा गर्ने थियो।”

उनका अनुसार, स्थिति नियन्त्रण बाहिर गएपछि मात्रै प्रहरीले गोली चलाउन बाध्य भएको हो। “मानिसलाई लक्षित गरेर गोली हान्ने आदेश कसैले दिएको होइन,” उनले स्पष्ट पारे। संसद् भवनमा ‘घुसपैठीयाहरू’ प्रवेश गरी तोडफोड र आगजनी गरेपछि मात्र बल प्रयोग गरिएको उनले बताए।

खापुङले घटनामा ‘घुसपैठिया’हरूले स्थिति भड्काएको पनि खुलाए। उनका अनुसार, जेन–जी आन्दोलनका आयोजकहरूले हिंसात्मक गतिविधिको कुनै योजना बनाएका थिएनन्, तर बाहिरबाट आएका समूहले उत्तेजना फैलाएर स्थिति बिगारे।

उनले सुरक्षा निकायबीच राम्रो समन्वय भएको र सेना–प्रहरीबीच तालमेलमा कुनै समस्या नभएको दाबी गरे। तर, राज्यको सूचना संयन्त्रले पर्याप्त ध्यान नदिएको कुरा उनले स्वीकार गरे।

भदौ २३–२४ का घटनाबारे अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिएको र नेपाल प्रहरीले पनि आन्तरिक टिम बनाएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

खापुङले अन्त्यमा भने, “प्रहरी अझ सम्यमित नभएको भए हताहती अझ धेरै हुन सक्थ्यो। हामीले न्यूनतम बल प्रयोग गरेका छौं।” उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल प्रहरी पूर्ण तयारीमा रहेको पनि बताए।