चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको आयात उल्लेखनीय रूपमा बढेको छ। भन्सार विभाग का अनुसार साउनदेखि फागुनसम्म नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो।
त्यस्तै, सोही अवधिमा नेपालले १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात गरेको छ, जुन गत वर्षको तुलनामा २०.८३ प्रतिशतले वृद्धि हो।
आठ महिनामा नेपालको कुल बाह्य व्यापार १४ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। गत वर्षको सोही अवधिमा १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको व्यापार भएको थियो। यस वर्ष बाह्य व्यापार १३.५५ प्रतिशतले बढेको देखिएको छ।
यद्यपि, आयातको उच्च वृद्धिसँगै व्यापारघाटा पनि बढेको छ। यस अवधिमा नेपालले १० खर्ब ९८ अर्ब रुपैयाँभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.२२ प्रतिशतले बढी हो।
देशअनुसार हेर्दा नेपालले भारत र चीन सँग सबैभन्दा बढी व्यापारघाटा व्यहोरेको छ। भारतसँग मात्रै ५ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढी र चीनसँग २ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको घाटा रहेको छ।
त्यस्तै अफगानिस्तान, अर्जेन्टिना, अस्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, बेल्जियम, ब्राजिल, फ्रान्स, हङकङलगायत देशसँग पनि नेपाल घाटामा रहेको छ।
तर अमेरिकन सामोआ, एंगोला, एन्टिगुआ एन्ड बार्बुडा, बहमास, केम्यान आइल्यान्ड, इक्वेडर र घानाजस्ता केही देशसँग भने नेपालले व्यापार नाफा गरेको तथ्यांकले देखाएको छ।







प्रतिक्रिया