हर्मुज जलमार्ग खुलाउन इरानलाई ट्रम्पको ४८ घन्टे अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Donald Trump ले साँघुरो जलमार्ग Strait of Hormuz खुला गर्न Iran लाई ४८ घन्टाको अल्टिमेटम दिएका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत ट्रम्पले ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा सञ्चालनमा नआए इरानका प्रमुख विद्युत उत्पादन केन्द्रहरू ध्वस्त पार्ने चेतावनी दिएका हुन्।

हर्मुज जलमार्गबाट विश्व बजारमा पुग्ने करिब २० प्रतिशतभन्दा बढी पेट्रोलियम तथा इन्धनजन्य पदार्थ ढुवानी हुने गर्दछ। पछिल्लो समय इरानले उक्त मार्ग प्रयोग गर्ने अमेरिकी, इसराइली तथा समर्थन गर्ने देशका जहाजहरूलाई निशाना बनाएपछि मार्ग बन्दप्रायः भएको छ।

यद्यपि भारतीय जहाजहरूलाई भने उक्त जलमार्ग प्रयोग गर्न अनुमति दिइएको बताइएको छ।

हर्मुजमा अवरोध भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। युद्ध सुरु हुनुअघि प्रतिब्यारेल करिब ७० डलर रहेको मूल्य तीन सातामै १०० डलरभन्दा माथि पुगेको छ। अमेरिकाले आफ्नो भण्डारबाट तेल बजारमा पठाए पनि मूल्य नियन्त्रणमा आउन सकेको छैन।

इरानका वर्तमान सर्वोच्च नेता Mojtaba Khamenei लाई उनका पिता Ali Khamenei भन्दा कडा र कठोर मानिन्छ। उनले हर्मुज क्षेत्रमा आक्रमण जारी राख्न इरानी सैन्य बललाई निर्देशन दिएको बताइएको छ।

यसअघि ट्रम्पले इरानमाथि गरिएको कारबाहीका अधिकांश उद्देश्य पूरा भइसकेको दाबी गरेका थिए। उनले इरानको मिसाइल क्षमता र प्रतिरक्षा प्रणाली कमजोर बनाएको तथा आणविक कार्यक्रम प्रभावित पारिएको बताएका थिए।

तर शुक्रबार आक्रमण कम गर्ने संकेत दिएका ट्रम्पले शनिबार पुनः कडा चेतावनी दिँदै हर्मुज खुलाउन दबाब बढाएका छन्।