राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘६ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र–२०८९’ को निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता बराबर ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो। उक्त धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्धको जिम्मा औपचारिक रूपमा कुमारी क्यापिटललाई दिइएको छ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

बैंकका उप–कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार, जारी गर्न लागिएको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (१८ लाख कित्ता) अर्थात् एक अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र संस्थागत तथा व्यक्तिगत लगानीकर्ताका लागि जारी गरिनेछ भने बाँकी ४० प्रतिशत (१२ लाख कित्ता) अर्थात् एक अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरिनेछ।

यो ऋणपत्र निष्काशनले बैंकको पूँजी संरचना सुदृढ गर्न र लगानी क्षमतामा वृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।